
विराटनगर । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगर आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बुढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भइन् ।
विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले आयोजना गरेको ‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई हराउँदै सेविका प्रथम भएकी हुन् ।
अर्पण सेकेण्डरी स्कुलकी प्रश्ना खड्कालाई द्वितीय र सिद्धार्थ शिशु सदनकी स्वामिका ढकाललाई तृतीय भए । त्यस्तै प्रतियोगितामा डनबस्को सेकेण्डरी स्कुलकी छात्रा सुष्मा बुढाथोकी र ग्रिनल्याण्ड सेकेण्डरी स्कुलका मयाङ्क मिश्र सान्त्वना भए ।
विद्यार्थीको प्रतिभा प्रस्फुटन गराई विद्यालय–विद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउँदै विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।
प्रत्येक वर्ष शिक्षा दिवसका अवसरमा यसलाई निरन्तरता दिने उनले भने ।
विजेता विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल, वरिष्ठ सल्लाहकार सावित्री पराजुली, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, निर्णायकद्वय मीनकुमार नवोदित, निर्मला कोइराला, आयोजक विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा प्रथमले ५ हजार, द्वितीयले ३ हजार, तृतीयले २ हजार र सान्तवनाले १ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गरे ।

























