
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगरमा सोमबार दिउँसो १ युवती मृत फेला परेकी छन् । मृतकको पहिचान खुलेको छैन ।
विराटनगर महानगरपालिका–१६ हुलास चोकको बाटोनजिक नालीमा अन्दाजी २८/३० वर्षीया युवती मृत फेला परेकी हुन् । तत्काल नाम, थर र वतन नखुलेकी युवती दिउँसो पौने ४ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतकको घाटीको पछाडिको भागमा फूलजस्तो ट्याटु र टाउकोसहित शरीरका विभिन्न भागमा सेतो दुबीजस्तो देखिन्छ । गाडा हरियो रंगको सर्ट र निलो जिन्सको पाइन्ट लगाएकी महिलाको कपाल पूरै खौरिएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा टोली खटिएको थियो । घटनास्थल मुचुल्का गर्ने क्रममा मृतक युवतीको भित्री वस्त्रबाट २२ एम्पुल लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार युवतीले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागमा लागुऔषध एभिल, डाइजापाम र नोरजेसिक फेला परेको हो । कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ ।
प्रहरीका अनुसार मृतकको साथमा परिचय खुल्ने कुनैपनि कागजात छैन । मृतकको पहिचानका लागि हुलिया परिपत्र गरेर घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
भारतको जोगवनीबाट लागुऔषध सेवन गरेर फर्किएकी युवतीले साथमा पनि लिएर आएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘जोगवनीमा सेवन गरेपछि साथमा पनि लागुऔषध लिएर आएको हुनसक्छ । ‘ओभरडोज’ले मृत्यु भएको हुनसक्ने देखिन्छ,’ प्रहरी स्रोतले भन्यो ।
डीएसपी बस्नेतले युवतीको मृत्युको कारण खुल्न बाँकी रहेको जानकारी दिए । अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ ।























