
काठमाडौं । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीलाई हेडक्वार्टर (प्रहरी प्रधान कार्यालय) तानिएको छ ।
मदिरा पिएर प्रहरी आचरणविपरीत कार्य गरेको आरोपमा उनलाई छानबिनका लागि हेडक्वार्टर तानिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा नयाँ डीआईजीका रूपमा जनक भट्टराईलाई पठाइएको छ ।
भट्टराईले अब कर्णाली प्रदेशको प्रहरी कमान्ड सम्हाल्ने छन् । डीआईजी ठकुरीलाई मन्त्रीस्तरीय निर्णयका आधारमा आइतबार हेडक्वार्टर तानिएको हो । उनलाई तत्कालका लागि अपराध अनुसन्धान विभागमा खटाइएको छ ।
यसअघि भदौ २६ गते मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेललाई पनि हेडक्वार्टर तानिएको थियो । लेनदेन विवादमा मुछिएपछि हेडक्वार्टर तानेर उनलाई प्रदेश समन्वय विभागमा खटाइएको छ । डीआईजी लालमणि आचार्य अहिले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् ।























