
काठमाडौं । सहकारी ठगीमा जोडिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तत्काल पक्राउ पर्ने सम्भावना नरहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशी पक्राउ परेलगत्तै रवि पनि पक्राउ पर्ने आकलन गरिएको थियो । काठमाडौंबाट पक्राउ गरेर छविलाललाई पोखरा लगिएको छ । सरकारी वकिल कार्यालयमा उनको बयान जारी छ ।
छविलगत्तै रवि पनि पक्राउ पर्ने चर्चा चलेको थियो । तर, प्रहरी अधिकारीहरुले पक्राउको तयारी नरहेको जनाएका छन् । संसदीय विशेष छानबिन समितिले गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि, सञ्चालक समिति सदस्य छविलाल र सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कारबाहीको सिफारिस गरेको छ ।
गृहमन्त्री रमेश लेखकको निर्देशनपछि प्रहरीले गोर्खा मिडियाका संचालकमाथि अनुसन्धान सुरु गरेको छ । गृहमन्त्रीको निर्देशनलगत्तै पक्राउ परेका छविलालविरुद्ध ठगी, संगठित अपराधसमेतमा मुद्दा चलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ । कुमार यसअघि नै पक्राउ परेर थुनामा छन् ।
रवि र जीबी पक्राउ परेका छैनन् । तर, फरार रहेका जीबीलाई खोजिरहेको प्रहरीले पूर्वगृहमन्त्री रवि तत्काल पक्राउ पर्ने सम्भावना नरहेको जनाएको छ । प्रहरीले पक्राउ पूर्जी पनि लिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिकामा रहेकाले उनी फर्किएपछि मात्रै रविका बारेमा निर्णय लिइने प्रहरी उच्च स्रोतले बतायो । ‘यो राजनीतिक विषय हो । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएका प्रधानमन्त्री नफर्किएसम्म रविका बारेमा कुनै निर्णय हुने सम्भावना छैन,’ स्रोतले भन्यो । ओली असोज १४ गते स्वदेश फर्किने बताइएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पनि इन्टरपोलको बैठकमा भाग लिनलाई ग्रिसतर्फ गएका छन् । उनी असोज १५ गते फर्किने जनाइएको छ । प्रधानमन्त्री र आईजीपी मुलुक बाहिर रहेका कारण उनीहरु नफर्किएसम्म रविलाई पक्राउ गर्न कुनै कदम नचालिने प्रहरी अधिकारीहरु बताउँछन् ।

























