
विराटनगर । मोरङको मिक्लाजुङमा घर बनाउन भनेर आएका मिस्त्रीको मंगलबार राति चट्याङले लागेर मृत्यु भएको छ ।
चट्याङले लागेर झापाको दमक नगरपालिका–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मोते घर बनाउने मिस्त्री हुन् ।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन भनेर उनी आएका थिए । नेपाली र मोते नातामा सोल्टी पर्छन् ।
नेपालीको घरको भान्सा कोठाअगाडि उभिएको अवस्थामा राति १० बजेतिर परेको चट्याङले लागेर उनी बेहोस भइ ढलेका थिए । घाइते अवस्थाका मोतेलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । घटनाको अनुसन्धान भइरहेको जानकारी उनले दिए ।























