इटहरी यातायातबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलिया पक्राउ

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ९, बुधबार १६:३६

सुनसरी । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलिया बुधबार पक्राउ परेका छन् ।

कार्यालयमा सेवाग्राहीलाई बिचौलियाले दुःख दिने तथा अनियमित कार्यहरु गर्ने, गराउने गरेको भन्ने गुनासोका आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा यातायात व्यवस्था कार्यालय (सवारी) तथा यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमती पत्र)बाट बिचौलिया पक्राउ परेका हुन् ।

कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी परिचालन गरेर बिचौलियालाई पक्राउ गरिएको फुयाँलले बताए । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.