विराटनगरको भब्या इन्टरनेशनलमा आगलागी, करिब डेढ करोडको क्षति (फोटो फिचर)

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ९, बुधबार २०:२८

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भब्या इन्टरनेशनल इलेक्ट्रिक सो–रुममा बुधबार दिउँसो आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

विद्युतीय २ पांगे्रे सवारीसाधन (इलेक्ट्रिक साइकल, सीटी सफारी) बिक्री गर्दै गरिँदै आएको पसलमा दिउँसो २ः४० बजेतिर आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीलाई १ घण्टाभन्दा बढी समय लाग्यो । पूर्वतिरबाट हावा चलेका कारण आगो तत्काल नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा सहजीकरण गर्नका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका थिए । आगलागीमा साइकल ८० वटा, इन्भटर ६०, ब्याट्री २ सय, ल्यापटप २, कम्प्युटर २, एसी १, प्रिन्टर १ वटा, फर्निचर, स्पेयर पाट्र्स, सीसी टिभीलगायतका सामान जलेर ध्वस्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

विद्युतबाट चल्ने साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन । भब्या इन्टरनेशनल संचालक मनिष वंशलले आगलागीबाट सो–रुम ध्वस्त भएको जानकारी दिए । उनले आगलागीमा डेढ करोडभन्दा बढीको क्षति भएको बताए ।

उनका अनुसार आगोले पसल पूर्णरूपमा ध्वस्त भएको छ । आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेका छन् । ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका थिए । नजिकै रहेको विराटनगर महानगरपालिकाको दमकल खबर गरेको १ घण्टापछि मात्रै आइपुगेको स्थानीय बताउँछन् ।

यसैबीच, कोशी राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारीसाधन संचालनमा समस्या भएको थियो । राजमार्गको पूवतर्फ रहेको पसलमा आगो लागेको हो । जसका कारण पूर्वतर्फको लेनमा सवारीसाधन संचालन हुन सकेनन् । घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले ‘डाइभर्ट’ गरेर पश्चिमतर्फको लेनबाट सवारीसाधन संचालनमा सहजीकरण गरेका थिए ।

आगलागी भएको भब्या इन्टरनेशनलसँगै बजाज सो–रुम जोडिएको थियो । प्रहरीका अनुसार आगोले बजाजको सो–रुममा समेत सामान क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.