सर्वोत्कृष्ट प्रहरी– १७ सय किलो बढी गाँजा बरामद, ‘बाह्रमासे’ जुवा खालमा छापा

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार ०६:५०

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी जवान टीकाराज खापुङलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रदेश प्रहरीको अनुसन्धान समूहमा कार्यरत खापुङले ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गर्न र ‘बाह्रमासे’ जुवा खालमा छापा हान्नका लागि सूचना संकलन गरी महत्वूर्ण भूमिका निर्वाह गरेका थिए । सूक्ष्म रूपमा सूचना संकलन र निगरानी गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खापुङ सर्वोत्कृष्ट प्रहरी बन्न सफल भए ।

प्रहरी कर्मचारीले महिना दिनभरि गरेका उत्कृष्ट कार्यको मूल्यांकन गर्ने क्रममा खापुङ कोशी प्रदेशबाट सर्वोत्कृष्ट बनेका हुन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले उनलाई ‘बेस्ट पुलिस अफ दी मन्थ’को उपाधिले पुरस्कृत गरेका छन् ।

प्रहरी जवान खापुङले भदौ ६ गते कोशी लोकमार्गअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेका थिए । धनकुटाबाट आउँदै गरेको ट्रकमा लोड गरिएको ४४ बोरा गाँजा प्रहरीले बरामद गरेको थियो ।

ट्रकभित्र १ हजार ४ सय २० कलोग्राम गाँजा भेटियो । गाँजासहित २ जना पक्राउ परे ।

त्यस्तै, इटहरी उपमहानगरपालिका–१ बाट प्रहरीले गाँजा लोड गरेको कार नियन्त्रणमा लियो । कारभित्र २ सय ४३ किलो ५ सय ग्राम गाँजा भेटिएपछि चालकलाई प्रहरीले पक्राउ गर्यो ।

धरान–१३ निशानेबाट भदौ १७ गते गाँजा लोड गरिएको कारलाई प्रहरीले नियन्त्रणमा लियो । ४ वटा बोरामा प्याक गरेर कारमा राखी ओसारपसार गर्दै गरेको ९८ किलो गाँजा प्रहरीले बरामद गर्यो ।

जवान खापुङकै सक्रियतामा भदौ महिनामा मात्रै १७ सय किलो बढी गाँजा बरामद गर्न प्रहरी सफल भएको छ । प्रहरीले १ हजार ७ सय ६१ किलो ५ सय ग्राम गाँजा बरामद गरेको हो ।

यसैबीच, मोरङको ग्रामथान गाउँपालिका–४ मा संचालित ‘बाह्रमासे’ जुवा खालमा प्रहरीले छापा हानेर ९ जना जुवाडेलाई पक्राउ गरेको थियो । जुवा खालबाट गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी थारु पनि पक्राउ परे ।

पक्राउ परेकाहरु जनही ३० हजार रूपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । जुवा खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५ सय रुपैयाँ नगदसमेत बरामद भएको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.