
विराटनगर । सुनसरीको धरानबाट मोरङको गोठगाउँ आउने क्रममा बसमै छुटेको यात्रुको नगद र गहना ट्राफिक प्रहरीले फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
धनकुटाको शहिदभूमि गाउँपालिका–४ खोकुछिन्ताङकी राधिका राई गोठगाउँका लागि धरानबाट को १ ख ६७९४ बसमा चढेकी थिइन् । तर, गोठगाउँ आइपुगेर ओर्लिने क्रममा उनले नगद ७२ हजार ५ सय रूपैयाँ तथा १ तोला सुन र १ तोला चाँदीको गहना बसमै छाडिन् ।
पैसा र गहना बसमै छुटेको भनेर उनले तत्काल प्रहरीलाई खबर गरिन् । त्यसलगत्तै ट्राफिक प्रहरी पोष्ट बेलबारीबाट खटिएको वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) लोकबहादुर दियाली नेतृत्वको टोलीले सवारीसाधन चेकजाँच गर्न थाल्यो ।
ट्राफिक चेकजाँचका क्रममा महिलाले बोक्ने हाते झोला (हेण्ड ब्याग) बसभित्रै फेला परेको मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर राजन लम्सालले बताए । उनका अनुसार फेला परेको पैसा र गरगहना सम्बन्धित धनीलाई नै फिर्ता गरिएको छ ।

‘नगद र गहना भेटिएपछि सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाइयो,’ लम्सालले भने, ‘हराएको सामान भेटिएपछि उहाँ पनि खुसी हुनु भयो ।’ आफू तनावमा परेका बेला पैसा र गहना फेला पारेर जिम्मा लगाएको भन्दै राईले ट्राफिक प्रहरीलाई धन्यवाद दिएकी छन् ।
ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलगायतमा यात्रा गर्दा आफ्नो सामानको सुरक्षामा ध्यान दिन सबैलाई आग्रह गरेको छ । ‘यात्राका क्रममा यात्रुले आफ्नो सामानको सुरक्षामा ध्यान दिनुपर्छ,’ इन्सपेक्टर लम्सालले भने, ‘नत्र छुट्ने र हराउने हुन्छ ।’ सामानको सुरक्षामा सबै सजग हुनुपर्ने उनी बताउँछन् ।























