
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ की १ वृद्धालाई रतुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।
प्रहरीका अनुसार ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले झापा तर्फबाट बगाएको हो । झापाको गौरादह नगरपालिका–६ स्थित छोरीको घर पुगेर फर्किने क्रममा डुरोदेवीलाई बिहीबार दिउँसो १२ः३० बजेतिर खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
तर, वृद्धालाई बेपत्ता बनाएको भोलिपल्ट मात्रै मोरङ प्रहरीले घटनाको जानकारी पाएको थियो । शुक्रबार बिहान ११ बजेतिर प्रहरीलाई खबर आएको हो । झापा प्रहरीले भने बिहीबार नै खबर पाएको बताइएको छ ।
‘छोरीको घर पुगेर आफ्नो घरतिर फर्कदा खोलाले बगाएर बेपत्ता भएको जानकारी आएको छ,’ मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले भने, ‘खोजी जारी राखिएको भएपनि फेला पार्न सकिएको छैन । उनका अनुसार तर्ने क्रममा खोलाले वृद्धालाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बेपत्ता बनाएको भोलिपल्ट पनि फेला पार्न नसकिएको र स्थानीयको सहयोगमा खोजी जारी राखिएको जानकारी जोशीले दिए । वृद्धालाई खोलाले बगाएको २४ घण्टाभन्दा बढी भइसकेको छ । अब जीवितै भेट्ने सम्भावना नरहेको र भोलिपल्टसम्म शव पनि फेला नपरेको प्रहरीले जनाएको छ ।























