
विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले बाढी, पहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका राईले कोशी प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्ताहरुलाई यस्तो आह्वान गरेका हुन् । पूर्वमुख्यमन्त्री राईले आइतबार १ विज्ञप्ति जारी गर्दै जोखिमलाई मध्यनजर गरी उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेका छन् ।
प्रदेशका विभिन्न स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै उनले घाइतेहरुको उपचार र बेपत्ताहरुको तीव्र खोजी गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘घाइतेको उद्धार, उपचार तथा मृतकका परिवारहरुलाई राहत तथा पुनःस्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ राईले भने
नेता राईले सडक तथा पुलहरु बाढीले बगाएको भन्दै तत्काल पुनःनिर्माणमा ध्यान दिन समेत आग्रह गरेका छन् ।


























