केसलिया खोलामा तटबन्धन निर्माण हुने

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १८:५३

विराटनगर । विराटनगर महानगरपालिकाको पश्चिमतर्फ रहेको केसलिया खोलामा तटबन्धन हुने भएको छ ।

बुधबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाले महानगरको पश्चिम दक्षिणी भाग डुबानमा परेको थियो ।

बर्सेनि वर्खामा यो क्षेत्र डुबान हुने गरेको छ । त्यस क्षेत्रमा केसलिया खोलाको पानी र महानगरको उत्तरतर्फको पानी बगेर आएका कारण डुबान हुने गरेको हो ।

केसलिया खोलाले कटान गरेर पानी बस्तीमा पसेर डुबान भएपछि त्यसलाई रोक्नका लागि तटबन्ध बनाइने भएको छ ।

विराटनगर–१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केसलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो ।

कोशी प्रदेश खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको सहयोगमा तटबन्ध निर्माण गरिने भएको हो ।

पूर्वमुख्यमन्त्री केदार कार्की, महानगरका कार्यवाहक प्रमुख विश्वनाथ भगत, मन्त्रालयका सचिव प्रदीप वान्तवासहितको टोलीले कटान क्षेत्रको निरीक्षण गरेका थिए ।

त्यस क्षेत्रको निरीक्षणपछि सचिव वान्तवाले लागत इस्टिमेट निकालेर तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले तत्कालका लागि कटान भएको करिब १ सय मिटरमा तारजाली लगाएर तटबन्ध निर्माण गर्न आवश्यक देखिएको बताए ।

पूर्वमुख्यमन्त्री कार्कीले केसलियाको बाढीबाट बस्ती जोगाउन केसलिया करिडोर निर्माण आवश्यक रहेको औंल्याए ।

उनले सम्पन्न बस्ती छेउबाट केसलियाको बाढी पस्दा सम्पन्न बस्तीमात्रै नभएर प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र आसपासको क्षेत्र डुबानमा परेको जानकारी दिए ।

केसलिया करिडोर निर्माण गरिए यस्तो समस्या कहिल्यै आउँदैन । बाढी समस्याको स्थायी समाधानका लागि एक मात्रै विकल्प करिडोर निर्माण नै रहेको कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.