विराटनगरमा खानेपानीका लागि पाइपलाइन परीक्षण सुरु

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १४, सोमबार १४:०३

विराटनगर । विराटनगरमा खानेपानी पाइपलाइन विस्तारका लागि परीक्षण सुरु गरिएको छ ।

विराटनगर महानगरपालिका–८ बाट परीक्षण सुरु गरिएको हो । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । परियोजनाको लागत अनुमान २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा २–३ पिस पाइप बिछ्याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने–नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि मात्रै औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले बताए ।

वडाध्यक्ष राम पोखरेलले वडाबासी शुद्ध खानेपानीको पर्खाइमा रहेको बताए । पोखरेल आफैं परीक्षणस्थलमा उपस्थित थिए ।

विराटनगरमा खानेपानी संस्थानअन्तर्गतका भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्यांकी, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइनेछ ।

खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । खानेपानी आयोजनाले १ लाखभन्दा बढी लाभान्वित हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.