
विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले रक्तदाता सञ्जाल बनाउने भएको छ । सञ्जाल बनाउन अभियान सुरु गर्ने एमालेको तयारी छ ।
रगत अभावमा बिरामले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सञ्जाल निर्माण गर्न लागिएको एमालेले जनाएको छ । कोशी प्रदेशको राजधानी विराटनगरका अस्पतालहरुमा बिरामीहरुका लागि रगतको अभाव हुने गरेको छ ।
रगत अभावलाई मध्यनजर गर्दै महानगर कमिटीको बुधबार बसेको पूर्ण बैठकबाट महानगरभित्रका पार्टी सदस्यलाई समेटेर रक्तदाता सञ्जाल निर्माण गर्ने निर्णय भएको एमाले विराटनगरका सचिव बलराम गिरीले बताए । उनका अनुसार महानगर र मातहतका कमिटीहरूका प्रत्येक बैठक तथा कार्यक्रमहरुका ‘माइन्यूट’मा रगत समूहको अभिलेख राख्ने व्यवस्था मिलाइने छ ।
बैठकले पार्टीका महानगर कमिटी सदस्य सुदीप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्ताको जिम्मेवारी दिएको छ । पार्टीको महानगर कमिटीले दसैं, तिहार, नेपाल सम्बत, छठ, इदलगायतका चाडपर्वको अवसरमा यही असोज १९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने छ । बैठकले महानगर कमिटीका सदस्य शेखर विश्वासका पिता जयनारायण विश्वास र पार्टी जिल्ला कमिटीका सचिव रविन थापाका भाइ कृष्ण थापाको निधनप्रति दुःख व्यक्त गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदनासहित शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
एमालेले महानगर कमिटी र टोल कमिटीका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । अभिमुखीकरणलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज जीवन घिमिरे तथा एमाले प्रदेश कमिटी सदस्य एवं महानगर इन्चार्ज पर्शुराम बस्नेतले सहजीकरण गरेका थिए ।
महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले धारणा राखेका थिए । पार्टीको महानगर संगठन कमिटी गठनपछि शपथ लिन छुटेकालाई
बधुबार नै शपथग्रहण गराइएको छ ।

























