
विराटनगर । कोशी प्रदेशमा ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले माग गरेको छ ।
बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न छुट्टै संरचना ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको हो ।
ज्ञापनपत्र बुझाउँदै माओवादी केन्द्रले भनेको छ, .‘बाढी पहिरोबाट प्रदेशमा ठूलो क्षति भएकोले राहत, पुनःस्थापना र पुनःनिर्माण सरकारको नियमित बजेटबाट संभव हुने नदेखिएकोले संघीय सरकार, विकास साझेदार दातृ निकायहरु तथा निजी क्षेत्रसमेतको सहयोग जुटाउनेगरि ‘राहत एवं पुनःनिर्माण कोष’ स्थापना गरियोस् ।’
बेपत्ताहरुको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडितलाई दसैँअघि नै राहत दिन माग पनि गरेका छन् । दलको प्रमुख सचेतक गीता तिम्सिना र सचेतक सपना परियारसहित पुगेको टोलीले बाढीबाट विस्थापित भएर घरवारबिहीन भएका र घरमा क्षति पुगेका नागरिकको लागि तत्काल बसोबासको व्यवस्थापन गर्न पनि माओवादीले माग गरेको छ ।
ज्ञापनपत्रमा विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारीमा सरकार चुकेको भन्दै विषम परिस्थितिमा आम नागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको उल्लेख छ ।

























