
विराटनगर । विराटनगर महानगरपालिका–४ त्रिमूर्ती चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको गेटमा विभिन्न माग राख्दै मंगोल नेशनल अर्गनाईजेशन (एम.एन.ओ)का नेताहरु अनसनमा बसेका छन् ।
मंगोल नेशनल अर्गनाईजेशन डा. गोपाल गुरुङ संगठनको डीजीजी १ नम्बर प्रान्तियसभाले मूलवासीहरुको हक अधिकार पूर्ण रुपमा लागू गर्नुपर्ने लगायतको माग राखेर सोमबारदेखि ३ दिने अनसनमा बसेका हुन् ।
उनीहरुले आइएलओ १६९ अन्तर्राष्ट्रिय महासन्धीअनुसार मूलवासीहरुको हक अधिकार पूर्णरुपमा लागू गर्नुपर्ने मागसहित आन्दोलनको पहिलो चरणमा अनसन बसेको बताए ।
उनीहरुले मूलवासीहरुलाई अन्याय अत्याचारका विरुद्ध विद्रोह गर्न बाध्य पार्न नहुने, देशका जल, जंगल, जमिनमाथि मूलवासी मंगोलको अग्राधिकारी सुनिश्चित हुनुपर्नेलगायत १६ बुँदे माग प्रस्तुत गर्दै आन्दोलनको थालेकाे प्रान्तियसभाका अध्यक्ष नयन्द्र चाम्लिङ राईले जानकारी दिए ।
एमएनओले मानव अधिकार आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन् । २१ गतेदेखि ७२ घण्टे अनसनमा बसेको बताउँदै, प्रान्तियसभाका सचिव रुपेन्द्र मंगोलले भने, ‘हाम्रो आन्दोलनको स्वरुप आवश्यकता अनुसार बन्दै अघि बढ्ने छ । यो हाम्रो पहिलो चरणको आन्दोलन हो । ७२ घण्टे अनसनबाट आन्दोलनको सुरुवात गरेका हौं । हामीले उठाएका माग र मुद्दाहरुलाई राज्य वा सम्बन्धित निकायले बेवास्ता गरे आन्दोलनले निरन्तता पाउने छ ।’
हाम्रो अस्तित्व, अधिकार र विश्वले दिएको कानुन अन्तर्राष्ट्रिय कानुन अनुसार देशको मूलवासी मंगोलहरु हकहित, अधिकार, अस्तित्व सुनिश्चित नभएसम्म आन्दोलन शान्तिपूर्ण र वैचारिक रुपमा अगाडि बढ्ने उनले बताए ।
अध्यक्ष नयन्द्र चाम्लिङ राईको नेतृत्वमा मोरङ अध्यक्ष तुलाराम तामाङ, १ नम्बर प्रान्तिय सचिब रुपेन्द्र तामाङ मंगोल, सुनसरी जिल्ला सदस्य शिवभक्त राईलगायत अनसनमा बसेका छन् ।

























