साढे ३ किलोमिटर सडकका लागि अढाई वर्षदेखि संघर्ष

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २५, शुक्रबार १६:४०

विराटनगर । हुलाकी राजमार्गको करिब साढे ३ किलोमिटर सडक निर्माण नहुँदा विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ जामुनगाछीका स्थानीयले सास्ती पाएका छन् । बर्खामा हिलो र हिउँदमा धुलाेका कारण स्थानीय र यात्रीले सास्ती पाएका हुन् ।

साढे ३ किलोमिटर सडक निर्माणका लागि स्थानीयले आन्दोलन सुरु गरेको अढाई वर्ष भयो । तर सरकारी निकाय र ठेकेदारले चासो नदिँदा सडक अधुरै छ ।

यो सडक निर्माणको ठेक्का सुरुमा देव एण्ड सायर/भूमि जेभीले पाएको थियो । सुरुमा भूमिले थाल्याे । तर भूमिले काम छाडेर भागेपछि लामाे समयसम्म सडक अलपत्र रह्याे । हुलाकी राजमार्ग आयोजना कार्यालयले देव एण्ड सायर जेभीलाई बाेलाएर पुन काम गर्न लगाएकाे थियाे ।

विराटनगरको गणेश चौकदेखि केशलिया खोलासम्मको साढे ३ किलोमिटर सडकखण्ड निर्माण नहुँदा सास्ती खेप्नु परेको स्थानीय उत्तम दाहालले गुनासो गरे । हिउँदमा धुलोका कारण र बर्खामा हिलोका कारण समस्या भएको उनले बताए ।

स्थानीयले कोशी राजमार्ग पश्चिम क्षेत्रलाई विकासमा पछि पारेकाे गुनासाे गर्दै  आएका छन् । ‘१० वर्षदेखि बाटोको अवस्था हिड्‌न नसक्ने थियो । त्यसबेला विराटनगर महानगरपालिका अन्तर्गत नै सडक थियो  । २०७७ सालमा हुलाकी राजमार्ग अन्तर्गत बाटोको ठेक्का लाग्यो तर ४ वर्ष बितिसक्दा पनि सडक बन्न सकेको छैन्,’ दाहाल भन्छन्,‘ डेढ वर्षसम्म भित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो, ठेकेदारले दुई पटक म्याद थपिसके ।’

उनका अनुसार सडकबाट हिँडडुल गर्न मुस्किल छ । पैदल यात्रीका लागि बनाइएको फुटपाथमा सवारी चलिरहेका छन् । ‘ बाटोमा सवारी साधन गुडाउन नमिले पछि साना सवारी साधन रिक्सा, मोटरसाइकल, साइकल फुटपाथबाट गुड्ने गरेका छन्,सानासान केटाकेटीहरूलाई एक्लै स्कुल पठाउन नसकिने भयो, सवारी साधनले ठक्कर दिन्छ कि त्रास छ,’ उनले भने,‘ २०७९ सालमा ब्यानरमा विकास विरोधी नेता बहिष्कार भनेर नेता बहिष्कार अभियान चलायौ ।’

२०४६ सालदेखि बारम्बार नेतृत्वमा पुगेका नेताले कोशी राजमार्ग पश्चिम रहेको क्षेत्रलाई विकासबाट बञ्चित गरी सामाजिक, कानुनी र नैतिक अपराध गर्ने नेताहरू चिनी राखौ भन्दै नेताको फोटो टाँसेका थिए । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला, एमालेका लालबाबु पण्डित, कांग्रेस नेता भीम पराजुली, केदार कार्की, एमाले नेता गुरु बराल, जीवन घिमिरेसहितको ब्यानर  बनाएर नेता बहिष्कारकाे अभियान चलाइयाे । बहिस्कार अभियान चलाएपछि नेताहरुले सडक बनाउने  प्रतिवद्धता जनाए । तर बाटो बनाउन कसैले चासो नदेखाएको स्थानीय निर्मलप्रसाद दाहालले बताए ।

‘सिडियो कार्यालय, महानगरपालिका लगायतका सम्बन्धीत संस्थामा  पटक पटक  डेलिगेसन गइयाे,एउटा कानले सुन्ने अर्काे कानले उडाइदिने गरे साह्रै दुःख पाइयो,’ उनले भने,‘ तीन वर्षमा पनि हाम्रो माग सम्बोधन भएन ।’

हुलाकी मार्ग हुँदै दैनिक हजारौ साधन गुडने सडकको खाल्डाखुल्डी पुरेर भएपनि यातायात सहज बनाउनुपर्ने विराटनगर -४ का अर्का स्थानीय एपोलोकुमार भगत बताउँछन् । सरकारी निकायहरुलाई आग्रह गर्दा कतैबाट सुनुवाई नभएको उनले बताए । उनले भने,‘समस्या समाधान हुन त परै जाओस्, आश्वासन बाहेक स्थानीयले केही पाएनन् ।’

अवरुद्ध अवस्थामा रहेकाे सडककाे कामका लागि २०८२ असार मसान्तसम्मको म्याद थपेर काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेल बताउँछन् । देवे ‍‍ एण्ड सायर निर्माण कम्पनीले ठेक्का लिएको र दसैं लगत्तै बाटोलाई पिच बनाउने प्रविबद्धता गरेको उनले बताए । याे सडक १७ करोडमा निर्माणका लागि ठेक्का लागेकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.