आज दसैंको टीका

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २६, शनिबार ०६:५१

विराटनगर । आज दसैंको मुख्य दिन आफन्त र मान्यजनबाट टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ः३६ मिनेटलाई तोकिदिएको छ । साइतको अगाडि पछाडि लगाउन पनि मिल्छ ।

‘टीका–जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’

उनका अनुसार साइतमा लगाउन नमिल्नेले आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउन सकिन्छ ।

सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउन उत्तम हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।

टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताए । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ३६ मिनेटको दिइएको उनले बताए ।

दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धीको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैं पर्व मनाउने परम्परा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.