
काठमाडौं । विजयादशमीको मुख्य दिन आज मान्यजनको हातबाट रातो टीका र जमरा लगाइँदै छ । टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीकको रुपमा लगाउने चलन छ ।
बिहान साढे ८ बजे देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । उत्तम साइत भने ११:३६ मिनेटमा तोकिएको छ ।
परम्परा अनुसार टीका लगाउनेले पूर्व फर्किएर बस्नुपर्छ । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने परम्परा पुरानो हो ।
दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए ।
दुर्गा विसर्जन गरेपछि टीका लगाउन सुरु गरिन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।























