जनतालाई निराश पार्नु हुँदैनः मुख्यमन्त्री कार्की

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३०, बुधबार १६:५९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरीले जनतालाई कहिले पनि निराश हुने गरी काम गर्न नहुने बताएका छन् ।

६९ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले जनता जहिले पनि प्रहरीबाट सहयोग हुन्छ भन्ने भरोसाका साथ आउने भएकाले उनीहरुलाई निराश बनाएर पठाउन नहुने बताएका हुन् । उनले जनताको प्रहरीप्रतिको विश्वास उठ्ने काम कहिले गर्नु हुँदैन ।

प्रहरी कहाँ आउँदा सुरक्षा प्राप्त हुन्छ भन्ने विश्वास दिलाउनका लागि जनताको काममा मनोबल उच्च राखेर अनुभूति दिलाउनु गर्नुपर्ने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘तपाईं कहाँ आएको व्यक्ति निराश भएर फर्कियो भने सुरक्षाको प्रत्याभूति नहुने, शान्ति सुरक्षा र अमनचयनमा पनि दखल पर्न सक्छ । त्यसले सन्देश प्रवाह गलत हुनसक्ने भएकाले तपाईं प्रहरीले ध्यान दिनुपर्ने हुन्छ । हामी सरकारमा भए पनि जनताको पहिलो सरकार भनेको तपाईं प्रहरीहरु नै हो । जनताको पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई कुनै पनि किसिमबाट निराश बनाउने काम कहिले पनि गर्न हुँदैन ।’

नेपाल प्रहरी स्वेदशमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि अपराध अनुसन्धानमा प्रख्यात रहेको छ । प्रहरीले पनि समयानुकूल आफूलाई परिवर्तन गर्दै आधुनिक बनाउन जरुरी रहेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रहरी समायोजन गर्न संघीय सरकारबाट ढिलाइ भएको हुँदा चाँडोभन्दा चाँडो समायोजनको प्रक्रिया अघि बढाउनका लागि सरकारसँग अनुरोध गरेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘अविलम्ब प्रहरी संगठन स्थापनाका लागि प्रदेश सरकारलाई दिइने अधिकार, कानुन बनाएर कानुनको माध्यमबाट प्रहरी समायोजनको काम अघि बढाइ दिनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछु । प्रहरी समायोजना भए प्रदेश प्रहरीलाई २ वर्षभित्र प्रदेशभित्र रहेको प्रहरी संगठनलाई साधनस्रोतले सम्पन्न बनाउँदै भौतिक सुविधा र विज्ञान प्रविधिको हिसाबले सशक्त बनाएर लैजाने छौं ।’

विश्वमा विज्ञान र सूचना प्रविधिको विकास दु्रत गतिमा अघि बढिरहेको छ । त्यसका आधारमा हामीले हाम्रा प्रहरीलाई विज्ञान र सूचना प्रविधिमा अघि बढाउन सके शान्ति, सुरक्षालगायत विभिन्न किसिमका अपराधिक घटना नियन्त्रण गर्नसक्ने थियौं, मुख्यमन्त्री कार्कीले भने ।

सीमित साधन स्रोतबाट पनि प्रहरीले उत्कृष्ट सेवा प्रवाह गरिरहेको छन् । उनीले भने, साधन स्रोत र भौतिक संरचनाको अभावलगायत अन्य सेवा सुविधा कम भए पनि हालसम्म जनताको जिउधनको सुरक्षा गर्ने, शान्ति सुरक्षा, अमनचयन राख्न महत्वपूर्ण भूमिका खेलको हुँदा अझ जनताप्रति उत्तरदायिक बन्न सक्नुपर्छ ।

एसएसपी जय सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, एसएसपी भीमबहादुर दाहालले शुभकामना व्यक्त गरेका थिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरीमध्येबाट जिल्ला प्रहरी कार्यालय धनकुटाकी प्रहरी सहायक हवल्दार सीताकुमारी दुलाल र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने पाँचथरका प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रदेश प्रहरी कल्याण कोषबाट बहालवाला, पूर्व प्रहरी र अमर प्रहरीका छोराछोरीहरुले एसईई, उच्च शिक्षातर्फको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने २३ जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

विभिन्न विधातर्फ उत्कृष्ट व्यवस्थापनतर्फ प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, उत्कृष्ट अपराध अनुसन्धानकर्ता प्रहरी निरीक्षक हेमराज ओली, आन्तरिक प्रशिक्षणतर्फ प्रहरी निरीक्षक मिलन थापा, लेखा तथा कल्याणतर्फ नायब निरीक्षक भीमबहादुर अधिकारी, बैण्ड शाखाका प्रहरी नायब निरीक्षक डिल्लीराम बिक, प्रबन्धतर्फ प्रहरी सहायक निरीक्षक बेगकुमार श्रेष्ठ, विपद् व्यवस्थानतर्फ प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान छन् ।

त्यस्तै, लागुऔषध अपराध अनुसन्धानतर्फ प्रहरी हवल्दार सन्तोष घिमिरे, संगठित अपराध अनुसन्धानतर्फ प्रहरी हवल्दार विशाल प्रधान, प्रशासनिक कार्यतर्फ प्रहरी हवल्दार विक्रम ढकाल, आर्थिक अपराधतर्फ प्रहरी सहायक हवल्दार दीपक आचार्य, अभिलेख व्यवस्थापनतर्फ प्रहरी सहायक हवल्दार विक्रम दाहाल, बाह्य प्रशिक्षण पुरुष र महिलातर्फ प्रहरी जवान तीर्थराज भट्टराई र प्रहरी जवान प्रतिभा राई, खेलाडी तथा प्रशिक्षकतर्फ प्रहरी जवान विसर्जन गुरुङ सम्मानित भए ।

साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल थापा मगरले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, प्रहरीलाई जग्गा प्रदान गर्ने, उपचारमा सहयोग गर्नेलगायत विभिन्न सामाजिक कार्यमा योगदान गरेका व्यक्ति र संघसंस्थालाई सम्मान गरिएको थियो ।

कोशी प्रदेशमा सर्वाेत्कृष्ट कार्य गर्ने वरिष्ठ प्रहरी नायब निरीक्षक गोपालबहादुर थापालाई एक लाख रुपैयाँको पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलगायतले सम्मानपत्र तथा पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.