साढे ३ महिनापछि चल्न थाल्यो अरुण नदीमा फेरी

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १, बिहीबार ०९:४९

भोजपुर । संखुवासभा र भोजपुरको सिमाना भएर बग्ने अरुण नदीमा साढे ३ महिनापछि फेरी सञ्चालनमा आएको छ ।

यसवर्ष दसैंमा पनि चल्न नसकेको फेरीलाई बल्ल सञ्चालनमा ल्याउन सकिएको भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले बताए । उनका अनुसार नदीमा पानीको बहाव घटेसँगै फेरी बुधबारदेखि चलाउन थालिएको हो ।

नदीको बहाव बढेसँगै बर्खाको समयमा फेरी बन्द भएको थियो । बर्खाको बेलामा सधैं बन्द हुने फेरी प्राय असोज पहिलो साताबाट सञ्चालनमा ल्याउने गरिएको थियो । तर, यसवर्ष असार दोस्रो साताबाट बन्द भएको फेरीको यात्रा कात्तिक लागेपछि मात्रै सम्भव भएको छ ।

नदीमा बहाव घटे पनि बाढीको असर कायमै रहेर पानी धमिलो भएका कारण यसअघि सञ्चालन गर्न सम्भव नभएको जानकारी मेयर उदासले दिए । उनका अनुसार दसैंमा चलाउन सकिन्छ कि भनेर यसअघि परीक्षणसमेत गरिएको थियो ।

भोजपुरको षडानन्द नगरपालिका–६ र संखुवासभाको खाँदबारी नगरपालिका–९ को सीमास्थित सत्तीघाटमा सञ्चालित फेरीबाट सवारीसाधन तार्ने गरिन्छ । तर, बन्द हुँदा अरुण नदीबाट मालवाहक एवं यात्रुवाहक सवारीसाधन वारपार सम्भव हुँदैन ।

फेरी अवरुद्ध हुँदा भोजपुरको उत्तरी क्षेत्रमा खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री आयात निर्यातमा समस्या हुने गरेको छ । भरियालाई बोकाएर सामान वारिपारि गराउनुपर्ने अवस्था हुन्छ ।

सत्तीघाटस्थित अरुण नदीमा पक्की पुल नभएका कारण संखुवासभा–भोजपुर सवारीसाधन र दैनिक उपभोग्य वस्तु तार्ने एकमात्र माध्यम फेरी बनेको छ । अरुणमा निर्माणाधीन अवस्थामा रहेका २ वटा पक्की पुल निर्माण सम्पन्न हुनसकेका छैनन् ।

अरुण नदीको सतीघाटमा चल्ने फेरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्छ । फेरीबाट १ पटकमा ४ वटासम्म सवारीसाधन तार्न सकिन्छ ।

फेरीबाट दैनिक १ सय वटा जति साना–ठूला सवारीसाधन अरुण नदी तार्ने गरिएको स्थानीय श्याम कार्की बताउँछन् । उनका अनुसार फेरी बन्द भएका कारण लामो समयदेखि सर्वसाधारण समस्यामा परेका थिए ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने फेरी पुनः सञ्चालनमा आएपछि सर्वसाधारणलाई राहत मिलेको मेयर उदासको भनाइ छ । उनका अनुसार फेरी बन्द हुँदा सामान ढुवानी महँगो पर्ने गरेको छ ।

‘नदीमा बाढी आएमा वा आपतकालीन केही भएमा तत्काललाई फेरी बन्द गर्नुपर्ने अवस्था आउनसक्छ । तर, लामो समयसम्म बन्द हुँदैन । तत्काल चलाइन्छ । अब हिउँदभर मज्जाले फेरी सञ्चालन हुन्छ,’ उदासले भने ।

षडानन्द नगरपालिकाले नगर प्रहरी र कर्मचारी खटाएर फेरी सञ्चालन गर्ने गरेको छ । फेरीमार्फत सवारीसाधन तार्दा दस्तुर लाग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.