
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ३ दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । नेताहरुबीच अहिले छलफल जारी रहेको हो ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको छ । शीर्ष नेताबीच अहिले समसामयिक राजनीति र विपद्पछिको पुनर्निर्माणको विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ। गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित भएर कानुन संशोधन भएको १ महिना कटिसक्दा पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु भएको छैन। दुवै आयोग २०७९ असारदेखि पदाधिकारीविहीन रहेका छन्।
शीर्ष नेताहरुको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडालसमेत सहभागी छन्।

























