
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया तत्काल अघि बढाउने सहमति शीर्ष तहमा भएको छ ।
आयोग गठनका लागि तत्काल ‘सर्च कमिटी’लाई पूर्णता दिने सहमति प्रमुख दलबीच बिहीबार भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तहका नेताबीच भएको छलफल एवं बैठकले तत्काल ‘सर्च कमिटी’लाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए।
आयोग गठनका लागि अघिल्लो सरकारको पालामा ‘सर्च कमिटी’ गठन गरिएको थियो। बस्नेतले त्यसलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने बारेमा शीर्ष तहमा छलफल र सहमति भएको बताए । उनका अनुसार केही दिनभित्रमै ‘सर्च कमिटी’ले पूर्णता पाउने र निश्चित समयभित्र आयोग गठनको काम टुंगिने छ।
आयोगमा रहने पदाधिकारीको सिफारिस ‘सर्च कमिटी’ले गर्ने उनले बताए। बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए।
उक्त आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।

























