
पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा शनिबार पोखरामा प्रदर्शन गरिएको छ ।
रविलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेर सडक मार्ग हुँदै पोखरा पुर्याइएको थियो । त्यसकै विरोधमा रास्वपाले प्रदर्शन गरेको हो । रास्वपाका शीर्ष नेताकै उपस्थितिमा प्रदर्शन भएको हो । साथै विभिन्न स्थानबाट नेता कार्यकर्ता पोखरा पुगेका छन् ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो । राजनीतिक प्रतिशोध गरेर पार्टी सभापतिलाई सहकारी र संगठित अपराधमा पक्राउ गरिएकोले जनतालाई यसबारे सचेत गराउन प्रदर्शन र सभा गरिएको रास्वपा गण्डकीका संगठन विभाग सचिव एकराज न्यौपानेले बताए।
रास्वपाको प्रदर्शन र भेलालाई मध्यनजर गरेर पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप लाग्दै आएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।
काठमाडौंमा पनि प्रदर्शन
यसैबीच, लामिछाने पक्राउको विरोधमा काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै माइतीघरमा रास्वपाको आयोजनामा प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको कदमको खुलेर विरोध गरेका छन् । प्रदर्शनकारीले सरकारमा दुईतिहाइको घमण्ड देखिएको भन्दै आक्रोस व्यक्त गरे ।
उनीहरुले लामिछाने सहकारी ठगी प्रकरणमा निर्दोश रहेको दाबी गरे । वास्तविक सहकारी ठगीमा संलग्नलाई भने कारबाहीको दायरामा ल्याउन प्रदर्शनकारीले माग गरेका छन् ।

























