दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३, शनिबार १७:०७

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित रवि पेट्रोल पम्पनजिक यात्रुवाहक बसको ठक्करबाट शनिबार दिउँसो मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कन्काई माता पाथीभरा बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई दिउँसो १२ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का ५५ वर्षीय पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ढुंगामुढा गर्दै बसमा आगजनी र तोडफोड गरेका छन् । आगजनीबाट बसको अगाडिको भागमा क्षति पुगेको झापा प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि तत्काल वैकल्पिक मार्गबाट सवारीसाधन चलाउन थालिएको छ ।

प्रहरीले बस र चालक झापाको गौरादह नगरपालिका–१ का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.