
विराटनगर । विराटनगरमा पहिलोपटक हुकाहुकी कार्यक्रम गरिएको छ ।
विराट राजवंशी युवा समितिले शनिबार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि हुकाहुकी कार्यक्रम आयोजना गरेको हो । अल्पसङ्ख्यकको रुपमा रहेको राजवंशी समुदायको सांस्कृतिक पर्वको संरक्षणका लागि युवाहरू जुटेका हुन् ।
लक्ष्मी पूजाको दिन आफ्नो कुल घरबाट सन्ठीको हुकाहुकी बनाई आगो बालेर आफ्नो खेतबारीमा गएर देखाउने र बलेर रहेको सन्ठीलाई खेतबारीमा गाड्दा किरा फ्टयाङ्ग्रा नलाग्ने र उत्पादन बढ्ने धार्मिक विश्वास रहेको विराट राजवंशी युवा समितिका अध्यक्ष विक्रम राजवंशीले बताए ।
आफ्ना संस्कृतिहरू लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि एकजुट भएको विराट राजवंशी युवा समिति कोषाध्यक्ष गंगा राजवंशीले बताइन् ।
आदिवासी तथा अल्पसङ्ख्यकको रुपमा रहेका राजवंशी समुदायको सङ्ख्या झापा, मोरङ र सुनसरीमा छन् । यो समुदायको जनसङ्ख्या करिब ५० हजार छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा युवाहरूले सांस्कृतिक प्रस्तुति मार्फत धर्म, संस्कृति र पहिचान संरक्षणका लागि एक हुनुपर्नेमा जोड दिएका थिए ।























