फायल फोटो ।विराटनगर । नेपाल प्रहरीका एसपी राजन लिम्बूलाई मोरङ आउन नदिन ‘चलखेल’ भइरहेको पाइएको छ ।
एसपी नवराज कार्कीका ठाउँमा लिम्बूको सरुवा भएको थियो । कार्कीलाई शुक्रबार ‘हेडक्वार्टर’ (प्रहरी प्रधान कार्यालय) झिकाएर उनका ठाउँमा लिम्बूलाई मोरङ प्रहरी प्रमुख बनाएर पठाउने तयारी थियो ।
सुनसरी घर भएका लिम्बू अपराध अनुसन्धान विभागमा कार्यरत थिए । मोरङबाट एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमै सरुवा गरिएको छ । कार्कीले शनिबार विराटनगर छाडेका छन् ।
तर, प्रहरी प्रधान कार्यालयको निर्णय उल्टाउन नेपाली कांग्रेसको एउटा समूह सक्रिय भएर लागेको प्रहरी उच्च स्रोतले बतायो । ‘कांग्रेसको संस्थापन अर्थात शेरबहादुर देउवा पक्षधर नेताहरु लिम्बूलाई मोरङ ल्याउन हुँदैन भनेर दौडधुप गरिरहेका छन् । गृहमन्त्री रमेश लेखकलाई दबाब दिइरहेका छन्,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार एसपी लिम्बू प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीनिकट रहेको दाबी कांग्रेसको छ । लिम्बू डीएसपी हुँदा ओलीका अंगरक्षकसमेत थिए । ‘ओलीनिकटलाई मोरङ ल्याउँदा आफूहरुको कुरा नसुन्ने कांग्रेसको बुझाइ छ,’ प्रहरीका १ उच्च अधिकारी भन्छन्, ‘लिम्बूलाई मोरङ आउन नदिन अर्को घटनाले पनि काम गरेको देखिन्छ ।’
ताप्लेजुङको फुङ्लिङमा १ वर्षअघि चलाइएको मिनी मेलाको विवादलाई लिएर तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी लिम्बू र ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित कोशी प्रदेशसभा सदस्य (सांसदं) खगेनसिंङ हाङगामबीच लफडा भएको थियो । प्रहरी र सांसदको समूहबीच २०८० भदौ २१ गते विवाद भयो ।
हाङगामले भनेजस्तो कांग्रेसको नेतृत्वमा सरकार त छैन । तर, प्रहरीको अरनखटन गर्ने गृह मन्त्रालय कांग्रेसकै नेतृत्वमा छ । देउवानिकटका रमेश लेखक गृहमन्त्री छन् ।
प्रहरीले हाङगामका कार्यकर्तामाथि धरपकड गरेको थियो । भोलिपल्ट अर्थात भदौ २२ गते हाङगामले फुङलिङमा कोणसभाको आयोजना गरेर डीएसपी लिम्बू र उनका परिवारलाई ज्यान मार्ने धम्की दिए । डीएसपीलाई तथानाम गालीगलौज गरे । बर्दी खोलेर भिड्न आउन चेतावनी दिए ।
हाङगामले नेपाली कांग्रेसको नेतृत्वमा सरकार भयो भने लिम्बू र उनका परिवारलाई ‘खोजीखोजी’ मार्ने धम्की दिएका थिए । हाङगामले भनेजस्तो कांग्रेसको नेतृत्वमा सरकार त छैन । तर, प्रहरीको अरनखटन गर्ने गृह मन्त्रालय कांग्रेसकै नेतृत्वमा छ । देउवानिकटका रमेश लेखक गृहमन्त्री छन् ।
तत्कालीन डीएसपीलाई सार्वजनिक हिसाबले धम्क्याउने उनै हाङ्गाम नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारमा अहिले उद्योग, कृषि तथा सहकारी मन्त्री छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २८ गते प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै उनलाई मन्त्री बनाएका हुन् ।
प्रदेशमा र केन्द्रमा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी छ । ओलीको अंगरक्षक बसिसकेका र प्रदेशका मन्त्रीसँग १ वर्षअघि विवाद गरेका लिम्बूलाई आफ्नै पार्टीको नेतृत्वमा गृह मन्त्रालय हुँदासमेत मोरङ प्रहरी प्रमुख बनाएर पठाउन खोजीको भन्दै कांग्रेसको देउवा पक्ष असन्तुष्ट छ ।
देउवा पक्ष जसरी पनि लिम्बूलाई मोरङ आउनबाट रोक्नुपर्छ भनेर लागि परेको प्रहरीका उच्च अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार लिम्बूलाई रोक्न लागेको समूह नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत एसपी नारायण चिमरियालाई मोरङ ल्याउनुपर्ने पक्षमा छ ।
‘लिम्बूका ठाउँमा चिमरियालाई ल्याउनुपर्छ भनेर ‘लबिङ’ भइरहेको छ । अहिलेसम्म लिम्बूलाई रवाना पनि दिइएको छैन । हेरौं भोलि (आइतबार)सम्ममा के हुन्छ,’ प्रहरीका उच्च अधिकारीहरु भन्छन् ।
प्रहरी अधिकारी शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको नेतृत्व गर्ने प्रहरी अधिकारीको सरुवाको विषयमा चासो राख्नु र राजनीतिक हिसाबले दबाब दिनु गलत भएको बताउँछन् । उनले प्रहरी प्रधान कार्यालयले गरेको निर्णय राजनीतिक दबाबका भरमा उल्टाउन खोज्नु ठीक नहुने बताए ।
हाङगाम र डीएसपी जोडिएको घटनालाई भने त्यतिबेलै सामसुम पारेर मिलाइएको थियो । कानुन हातमा लिएर अमर्यादित, उत्तेजक र माहोल भड्काउने हिसाबले सार्वजनिक मञ्चबाट हिंसात्मक अभिव्यक्ति दिएका हाङगामले सत्तारुढ दलको सांसद भएकै हिसाबबाट त्यतिबेला उन्मुक्ति पाएका थिए ।
हाङगामको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको प्रतिक्रिया दिएर कांग्रेसले उनलाई जोगाएको थियो । यद्यपि, तत्काली डीएसपी, हालका एसपी लिम्बूसँग कुरा मिलिसकेको र एकअर्कामा सामीप्यता रहेको उनी बताउँछन् । लिम्बू र आफ्नाबीचमा आत्मसमीक्षा गरेर घटना मिलाइएको हाङगामको भनाइ थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्की मोरङ प्रहरी प्रमुखका रूपमा एसपी लिम्बूलाई नै पठाइने बताउँछन् । ‘बरबुझारथ बाँकी रहेकाले तत्काललाई रवाना नदिइएको हो । रवानाको प्रक्रियामै छ । लिम्बूका ठाउँमा अरुलाई पठाउन कसैले पनि दबाब दिएको मलाई थाहा छैन,’ उनले भने ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी मोरङमा को एसपी आउँदैछन् भनेर आफूलाई थाहा नभएको बताउँछन् । माझी नेपाल प्रहरीका पूर्वडीआईजी पनि हुन् ।
‘कसलाई मोरङ पठाउँदैछन् भन्ने गृहमन्त्रीकै कुरा हो । गृहमन्त्रीबाट हामीलाई सोधीखोजी भएको छैन । एसपी जो आएपनि राम्रो काम गर्ने मान्छे आउनुपर्छ । प्रहरी अधिकारीले कुनै पनि पार्टीको नजिक हुन हुँदैन,’ उनले भने ।























