
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । अकस्मात् बस्ने बैठकका एजेन्डाबारे भने हालसम्म कुनै जानकारी गराइएको छैन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । स्रोतका अनुसार आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने सम्भावना छ । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनको लागि दशैंअघि नै जोड गरेका थिए ।
प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा असहमति राखेपछि अध्यादेश ल्याउन केही ढिलाई भएको थियो ।
स्रोतका अनुसार कांग्रेस सभापति देउवाकै मागबमोजिम सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिसकेको छ । रवि पक्राउ परेर उनीविरुद्ध थप अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद पनि थप भएको छ ।
लामिछानेविरुद्ध म्याप भएसँगै यता बालुवाटारमा कांग्रेस र एमालेका नेतृत्व तहका नेताहरू थप रणनीति बनाउन छलफलमा हिजैबाट जुटेका थिए । छलफलमा एमालेबाट प्रधानमन्त्री ओली, नेताहरू शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए ।
उता, कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगन थापा र नेतृ डा. आरजु राणा सहभागी थिईन् । हिजोको बालुवाटार बैठकबाट नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा उच्चस्तरको समझदारी बनेको चर्चा थियो ।

























