
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेकपा (माओवादी केन्द्र)ले खबरदारी सभा गर्ने भएको छ । सरकारको शैलीको विरोधमा कार्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन पनि दिए ।
विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने माओवादी केन्द्रले जनाएको छ ।

























