
काठमाडौं । सरकारले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा हुँदै गर्दा उपलब्धि सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
सय दिन पूरा भएको अवसरमा ओलीले सरकारका कामकारबाही र प्रगतिका बारेमा बुधबार जानकारी गराउने भएका हुन् । तर, पत्रकार सम्मेलन कि सम्बोधनमार्फत भनेर यकिन भइसकेको छैन ।
समय र कार्यक्रमको स्वरूपबारे प्रधानमन्त्रीले आन्तरिक छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्री ओलीलाई बुझाइसकेका छन् ।
ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । असार १७ गते एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतिका आधारमा ओली प्रधानमन्त्री बनेका थिए । भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा अरु साना दल पनि सहभागी छन् । सरकारको कार्यशैली भने निराशाजनक छ ।
मुलुकलाई समृद्ध बनाउने, राजनीतिक स्थिरता कायम गर्ने, कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनेभन्दा पनि सरकार ‘इगो’का आधारमा अघि बढिरहेको प्रष्ट हुने विश्लेषकहरु बताउँछन् । अर्कोतर्फ सेवा प्रवाह पनि सन्तोषजनक छैन ।
सर्वसाधारणको चासो र सरोकार रहेका सरकारी कार्यालयको सेवा प्रवाहमा कुनै सुधार हुन नसकेको सेवाग्राहीहरूको गुनासो बढ्दो छ । महँगी र भ्रष्टाचार नियन्त्रण तथा आर्थिक अवस्था चलायमान पार्ने ठोस योजना सरकारले ल्याउन सकेको छैन ।
प्राकृतिक विपतमा समेत सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको तथ्य लुकेको छैन । विपतको पूर्वतयारीमा चुकेको सरकारले विपतपछिको राहत, उद्धार र पुनःस्थापनामा समेत प्रभावकारी भूमिका खेल्न सकेन ।

























