
काठमाडौं । सर्वोच्च अदालतले भटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले दान दिएको जग्गा लिने नेकपा (एमाले)को निर्णयविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न बुधबार आदेश दिएको हो । यसअघि अधिवक्ता ज्ञानबहादुर बस्नेतले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।
रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाइएको छ । ललिता निवास प्रकरणमा मुद्दा खेपिरहेका विवादास्पद व्यवसायी गुरुङसँग जग्गा दान लिएर एमालेले पार्टी कार्यालय भवन बनाउने निर्णय गरेपछि तीव्र विरोध भइरहेको छ ।
सत्तारुढ दलले सौदाबाजी गरेर जग्गा लिएको आरोप लागेसँगै एमालेको चौतर्फी आलोचना पनि भइरहेको छ । एमालेकै स्वच्छ छविका नेता कार्यकर्ता जग्गा दान लिने निर्णयको विरोधमा छन् ।

























