
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गर्छु भनेका ७० प्रतिशत काम पुरा भएको दाबी गरेका छन् ।
बुधबार सिंहदरबारमा सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
१०० दिनमा मन्त्रालयहरूले गर्ने तय गरिएका २ सय ७४ वटामध्ये १८५ वटा काम सम्पन्न भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
सरकार गठनको १०० दिनको अवधिमा विपद्बाट मृत्यु भएका ३ सय ९१ जनाका परिवारले २ लाखका दरले राहत पाएको उनले बताए ।
राहतका लागि ७१ वटा स्थानीय तहमा ४३ करोड बाँडिएको समेत उनले जानकारी दिए ।
यस्तै सरकारले १५ लाख दुग्ध किसानको भुक्तानीका लागि ६० करोड निकासा गरेको समेत प्रधानमन्त्री ओलीले बताए । १५ लाख दुग्ध किसान र ७५ हजार उखु किसानले पनि भुक्तानी पाएको उनको भनाई थियो ।

























