गृहका ६ जना उपसचिवको सरुवा

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार २२:०२

काठमाडौं । गृह मन्त्रालयले ६ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । बुधबार अपराह्न मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

प्राप्त विवरण अनुसार गृह मन्त्रालयका उपसचिव तेजराज शर्माको इलाका प्रशासन कार्यालय सिमरा बारा, खिमलाल भुसालको कारागार कार्यालय पर्सा, देवी पाण्डे खत्रीको जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएको छ ।

यसैगरी, गृहकै उपसचिव विजयराज सुवेदीलाई जिल्ला प्रशासन कार्यालयको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीलाई इलाका प्रशासन कार्यालय धरान सुनसरी र जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

मन्त्रालयले केही दिनयता ‘बरन्डा’ खाली अभियान सुरु गरेको छ । अधिकृतदेखि उपसचिवस्तरका कर्मचारीलाई महिनौँदेखि जिम्मेवारी नदिई राखिएको विषयमा चौतर्फी आलोचना भएसँगै मन्त्रालयले व्यवस्थापन सुरु गरेको हो ।

त्यसो त भए जति सबैलाई एकैपटक खाली गर्दा सहज हुने भए पनि अनेकतिरका ‘इन्ट्रेष्ट’का कारण व्यवस्थापन गर्न कठिनाई भएको गृह स्रोत बताउँछ । ‘सचिवज्यू तत्काल व्यवस्थापन गरेर बरन्डा खाली बनाई हालौँ भन्नुहुन्छ र मन्त्रीज्यूले पनि ल अहिल्यै ल्याई हाल्नुस् सूची भन्नुहुन्छ । तर, राति १० बजेसम्म बसेर पनि सूची टुंगिदैन र भोलि भनेर सबै घरतिर लाग्छन्,’ स्रोतले भन्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.