
झापा । दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु भएपछि बुधबार साँझबाट असामान्य बनेको झापाको कमल गाउँपालिकास्थित केरखाको तनाव अन्त्य भएको छ ।
माहोल शान्त पार्न र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । नेपाल र सशस्त्र प्रहरीले अश्रुग्यास प्रहार गरेका हुन् ।
आक्रोसित भिडको आक्रमणमा परेर ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । आक्रोसित बनेको समूहले केर्खामा रहेको प्रहरी बिट, ट्राफिक प्रहरी बिटमा ढुंगामुढा, तोडफोड र आगजनी गरेको छ ।
ढुंगामुढाबाट घटनास्थलनजिकै रहेको मे १ ख २७४४ नम्बरको न्यू सूर्योदय यातायातको यात्रुवाहक बसको सिसा फुटेको छ । पूर्व–पश्चिम राजमार्ग रातभर अवरुद्ध बन्यो ।
झापाको काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसले कमल गाउँपालिकाको केरखामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा एकै परिवारका हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी नातिनी ९ वर्षीया कृपा लिम्बूको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
बालिकाको जन्मदिन रहेको र जन्मदिन मनाउन केक लिन गएका हजुरबु्वा–नातिनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले बस र चालक झापाकै शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय विशाल ठटाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
झापा प्रहरी प्रवक्ता चन्दका अनुसार मृतक पक्षसँग वार्ता गरेर समस्याको समाधान निकालिएको छ । दोषीलाई कानुनबमोजिम कारबाही गर्ने, मृतक पक्षलाई क्षतिपूर्तिका लागि पहल गर्ने लगयातका विषयमा सहमति भएको उनले बताए ।
वार्ताबाट समस्याको समाधान निकालिएपछि अवस्था सामान्य बनेको र मृतक पक्ष शव बुझ्न राजी भएको डीएसपी चन्दको भनाइ छ । उनका अनुसार अहिले राजमार्ग पूर्णरूपले सञ्चालनमा छ ।























