
काठमाडौं । एमालेको केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्चमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ ।
उक्त रिट सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको छ ।
गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा बुधवार रिट दायर गरेका थिए ।
अधिवक्ता बस्नेतले दर्ता गरेको रिटमा भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट प्रधानमन्त्रीको रूपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा लिनु स्वार्थ बाझिने र भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको दाबी गरिएको छ ।
सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएपछि बुधबार रिट दर्ता गरिएको थियो ।

























