
पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न थप ७ दिनको म्याद दिएको छ ।
उनीमाथि अनुसन्धानका लागि प्रहरीले बिहीबार थप ७ दिनको म्याद पाएको हो । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलाई हिरासतमा राख्न आगामी बुधबारसम्मका लागि म्याद दिइएको हो ।
त्यो अवधिमा पनि अनुसन्धान नसकिए प्रहरीले पुनः म्याद थप गर्न सक्छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा गत शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पुर्याइएको थियो ।
हिरासतमा राख्न पहिलोपटक अदालतले ६ दिनको म्याद दियो । त्यो म्याद सकिएपछि पुनः दोस्रोपटक जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिनको म्याद दिएको हो ।
सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि रविसँगै कास्की जिल्ला अदालतमा बिहीबार उपस्थित गराइएको थियो। लामिछानेविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
छविलाल पनि ७ दिन हिरासतमा राख्न अनुमति
पूर्वडीआईजी छविलाल जोशीलाई समेत थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतको अनुमतिपछि जोशीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ । उनी गत असोज ६ गते पक्राउ परेका थिए । पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ । सहकारी ठगी एवं संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

























