रविलाई रुपन्देही लैजाने तयारी

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार १५:०६

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ ।

संगठित अपराधमा रुपन्देही जिल्ला अदालतबाट अर्को पक्राउ पुर्जी जारी भएपछि उनलाई उतै लैजाने तयारी भएको हो । कास्की जिल्ला अदालतले भने पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई थप
७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अब लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको छ ।

त्यस्तै, अर्का आरोपी लीला पछाइँलाई पनि ७ दिन म्याद थप गरिएको छ । म्याद थपका लागि हिजो तीनै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । हिजो प्रहरीले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नेगरी म्याद लिएको थियो ।

यसअघि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानमा गरिरहेको प्रहरीले सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि एकसाथ लैजानेगरी म्याद लिएको हो । संगठित अपराध अनुसन्धानमा ६० दिन हिरासतमा राख्ने पाउने प्रावधान रहेकोमा सम्पत्ति शुद्धीकरणमा आरोपितलाई ९० दिन थुनामा राख्न सकिन्छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए भने रास्वपा सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। जोशीसँग म्याद मिलान गरेर हिजो दुवैको एकसाथ ७ दिन म्याद थप भएको हो ।

सूर्यदर्शनसहित पाँचवटा सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई बुधबार सरकारी वकिलको कार्यालयले करिब ३ घण्टा बयान लिएको थियो भने जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।

गोर्खा मिडियाका पूर्वसञ्चालक दुवै जनालाई प्रहरीले सहकारी रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका क्रममा केही थप खुल्दै गए अन्य कसुरमा समेत अनुसन्धान गरिने अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.