
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध शनिबार (आज) काठमाडौंमा खबरदारीसभाको आयोजना गर्दै छ ।
वर्तमान सरकारको सयदिन असफल भएको र सरकारले भ्रष्टचारीलाई जोगाउने षडयन्त्र गरिरहेको निष्कर्ष निकाल्दै माओवादीले भृकुटीमण्डपमा खबरदारीसभा गर्ने घोषणा यसअघि नै गरेको थियो । सभा रचनात्मक र शान्तिपूर्ण बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गरिएको माओवादीले जनाएको छ ।
बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारीसभाको तयारी पूरा भएको जानकारी माओवादीले दिएको छ । बाजागाजा र झाँकीसहितको सभा बिहान ११ बजे सुरु गर्ने तयारी छ ।
जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामा करिब ३० हजारको सहभागिता हुने माओवादीको अनुमान छ । सत्ताबाट बाहिरिएपछि माओवादी सरकारविरुद्ध आक्रामक बनेको छ ।

























