
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको कुनै पनि चुनावमा अन्य दलहरुसँग आफ्नो गठबन्धन नहुने बताएका छन् ।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका हुन् ।
विगतमा काँग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती गरिएकोले अब त्यस्तो गल्ती नगरी सच्याउने प्रस्ट पारे ।
माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सक्ने छ । उनले जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिँदै साथ दिन्छ ।
उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजानेमा उनले जोड दिए । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको धारणा राखे ।
भाटभटेनी सुपर मार्केटमा आफ्नो लगानी नभएको कुरा क्लियर गर्दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गर्दा त्यहाँ आफ्नो लगानी नभएको कुरा प्रष्ट भएको प्रचण्डले बताए ।
प्रतिक्रियावादीले मलाई आरोप त धेरै लगाउने गरेका थिए । तीमध्ये एउटा आरोप भाटभटेनीमा मेरो लगानी छ भन्ने गरिएको थियो, प्रचण्डले भने, ‘भाटभटेनी प्रचण्डको भन्ने गरेकोमा मैले २ / ४ वर्षदेखि मेरो होइन, मेरो लगानी छैन भने पनि कसैले पत्याएका थिएनन् । तर, अहिले अहिले प्रधानमन्त्री ओलीले क्लियर गर्दिनुभो धन्यवाद केपी जी । यसको सेयर होल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं रहेछ भनेर तपाईंले नै क्लियर गर्दिनुभो मैले बोल्नै परेन ।’
ओलीले नै व्यवसायी गुरुङ ‘एमालेमै हुनुहुन्थ्यो बीचमा यताउता जानुभो अहिले एमालेमै आउनुभो’ भनेर क्लियर गर्दिएको प्रचण्डले बताए ।

























