
खाँदबारी । संखुवासभामा काँक्रो टिपेको विवादमा शनिबार दिउँसो एक महिलाले मामाको हत्या गरेकी छन् ।
प्रहरीका अनुसार चिचिला गाउँपालिका–४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले खुकुरीले प्रहार गरेर नातामा मामा पर्ने चिचिला–४ ध्वजेका ४५ वर्षीय भीमबहादुर गुरुङको हत्या गरेकी हुन् । भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो टिपेको विषयमा बढेको विवाद हत्यामा परिणत भएको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार दुर्गामायाले दिउँसो १२ः२० बजेतिर खुकुरी प्रहार गर्दा टाउको, ढाड र खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका भीमबहादुरको घटनास्थलमै मृत्यु भएको हो । दुर्गामायाले आफ्नै आँगनमा भीमबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि डीएसपी बस्नेत आफैं घटनास्थल पुगेका थिए । हत्यामा संलग्न दुर्गामायालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको जानकारी बस्नेतले दिए ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदै छ । डीएसपी बस्नेतले घटनका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

























