दुर्घटनामा ३ बालबालिकाको मृत्यु, ८ जना घाइते

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १२, सोमबार २२:१४

सल्यान । सल्यानमा सोमबार साँझ मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा तीन जना बालबालिकाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक साँझ ६ बजेतिर दुर्घटनामा परेको गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । दुर्घटनामा १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भनिने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको सल्यान प्रहरीका इन्स्पेक्टर रेशमबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परेर १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीतसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी घाइते भएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइते भएका केहीको अवस्था गम्भीर छ । प्रहरीका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.