प्लाष्टिकका फूल बिक्रीमा रोक, ४६ स्थानबाट स्वदेशी फूलको बिक्री

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १३, मंगलबार १२:२६

काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिकाले प्लाष्टिकका र आयातित फूल बिक्रीमा रोक लगाएको छ । स्वदेशी फूल बिक्रीका लागि भने ४६ स्थान तोकिएको छ ।

स्वदेशमा उत्पादन भएका फूल बिक्री गर्न महानगरले ४६ स्थान तोकेको हो । महानगरका अनुसार तिहारमा स्वदेशी फूल उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न फूल बिक्री वितरण केन्द्रको व्यवस्था गरिएको हो ।

महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गर्न निषेध गरिएको जानकारी दिए । फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले बताए ।

महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडी गाउँ र बालाजु विष्णुमती करिडोरमा फूल किनबेचको व्यवस्था मिलाइएको थियो । यसवर्ष भने महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न दिपावली ,नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरणको प्रबन्ध गरेको हो ।

महानगरले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादनलाई प्रोत्साहन गरेर प्रशंसनीय कार्य गरेको छ । मेयर साहले आफूलाई पायक पर्ने स्थान छनोट गरी फूल बिक्री गर्न आग्रह समेत गरेका छन्।

फूल बिक्रीका लागि महानगरले सहजीकरणसमेत गरिरहेको छ । कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले जनाएको छ।

महानगरले काठमाडौंमा माछा पोखरीको आरती पार्टी प्यालेस, बुद्ध मल, बालाजु भाटभटेनी, बालाजुको भ्याली कोल्ड स्टोर, सामुदायिक भवन, स्वयंभूको धर्म चक्र पार्क, स्वयम्भू मार्ट, कलंकीको भाटभटेनी, कलंकी ट्र्रेड सेन्टर, एसएनएस, एनबीटीसी, खुशीँबुको नेपा ब्याङ्क्वेट, पकनाजोलको बिग मार्ट, कालधारा, कालीमाटीको साल्ट ट्र्रेडिङ, सुन्धाराको काठमाडौं मल, सिभिल मल, सीटीसी मल, नयाँ सडकको रञ्जना मल, अनामनगरको बिग मार्ट कम्प्लेक्स, न्यू प्लाजाको एटी कम्प्लेक्स, अनामनगरको भाटभटेनी, कमलादीको आईटी प्लाजा, टेवहालको संकटा चोक, चाबहिलको केएल टावरलगायतका स्थानमा फूल बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

त्यस्तै, बौद्धको बी एन्ड एसएम, शंखमूलको भर्गो जापान, बिगमार्ट, निराकल कम्प्लेक्स, बानेश्वरको आइप्लेक्स, नयाँ बानेश्वरको एनबी सेन्टर, बत्तीसपुतलीको फोनिक्स टावर, चाबहिल गणेशस्थानको फुटबल चउर, कोटेश्वरको बीबीएसएम, भाटभटेनी, सिफलको सिफल चउर, केटीएम पार्टी प्यालेस, चाबहिलको एसपी कम्प्लेक्स, नक्सालको भाटभटेनी, बालुवाटारको बिग मार्ट, महाराजगन्जको सेल्स बेरी, भाटभटेनी, सामाखुशीको कोइराला मार्ट, बिग मार्ट, कमलपोखरीको सीटी सेन्टर, बालाजुको ल्होत्से मल र सोह्र खुट्टेको सासा ब्याङ्केटमा फूल किनबेचको प्रबन्ध गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.