विराटनगरको पुनःस्थापना गृहबाट ३ जना फरार

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १४, बुधबार १५:५६
सांकेतिक फोटो ।

विराटनगर । विराटनगरको दीर्घकालीन पुनःस्थापना गृहबाट ३ जना फरार भएका छन् । विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको गृहबाट २ बालिका र १ जना युवती भागेका हुन् ।

गृहमा राखिएकामध्ये मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलामको इलाम नगरपालिकाकी १५ वर्षीया बालिका तथा धनकुटाको धनकुटा नगरपालिका घर भएकी १९ वर्षीया युवती बुधबार बिहानका राति फरार भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार फरार भएकाको खोजी भइरहेको छ ।

सुधार गृहबाट आफूखुसी हिँडेकाहरु यो समाचार तयार पार्दासम्म परिवारको सम्पर्कमा समेत नपुगेको उनले बताए । भागेकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको छ । विभिन्न प्रहरी युनिटसँग समन्वय गरेर खोजी तीव्र पारिएको डीएसपी जोशीले जानकारी दिए ।

दीर्घकालीन पुनःस्थापना गृह कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्दै आएको छ । घरेलु र लैंगिक हिंसाबाट पीडित भइ भय तथा असुरक्षा महसुस गरिरहेका, आफ्नो घर एवं समाजमा रहेर नियमित जीवनयापन गर्न नसकिरहेका र बेचबिखनदेखि बलात्कार पीडितलगायत अनेक हिसाबले जोखिममा परेका महिला एवं बालिकालाई उद्धार गरेर पुनःस्थापना गृहमा राखिँदै आएको थियो ।

गृहमा राखेर उनीहरुलाई पूर्णरूपमा सुरक्षित महसुस गराइ आवश्यक पर्ने मनोसामाजिक परामर्श, कानुनी सहायता तथा जीविकोपार्जन सीपका माध्यमबाट समाजमा पुनः भयरहित ढंगले पुनःस्थापना गर्ने गरिन्छ ।

पुनःस्थापना गृहकी प्रमुख सुनीता भट्टराईका अनुसार भागेका तीनै जना बलात्कारबाट पीडित भएकाहरु हुन् । पुनःस्थापना गृहमा अहिले २५ जनालाई राखिएको छ । अधिकांश बालिकाहरु रहेको जानकारी भट्टराईले दिइन् ।

‘केही चैं २१–२२ वर्षका पनि छन् । अधिकांश बालिकाहरु छन्,’ उनले भनिन् । उनका अनुसार गृहमा राखिएकाहरुका ८ सन्तानलाई पनि पुनःस्थापना गृहमा राखिएको थियो ।

गृहमा ३ जना महिला सुरक्षा गार्डको व्यवस्था गरिएको छ । ‘सुरक्षा गार्डलाई छलेर भागेकाहरुको प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको छ,’ भट्टराईले भनिन्, ‘बेलुकासम्ममा पत्ता लगाउन सकिन्छ होला ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.