
विराटनगर । इलाम र सुनसरीबाट तास खेल्दै गरेका १८ जना पक्राउ परेका छन् ।
इलाम नगरपालिका–७ बाट तास खेलिरहेका ११ जना पक्राउ परेका छन् । इलाका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा इलाम–६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ वर्षीय रञ्जन विक, ४२ वर्षीय विकास लिम्बू, ४० वर्षीय मणिकुमार प्रधान, ४१ वर्षीय मीनराज सुब्बा, इलाम–७ का २७ वर्षीय सुवास श्रेष्ठ, ३० वर्षीय अनिल श्रेष्ठ पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा इलाम–८ का ३३ वर्षीय देवकुमार राई, ३५ वर्षीय केशव सुवेदी, इलाम–६ का ४० वर्षीय सुन्दर परियार, इलाम–३ का २८ वर्षीय कर्ण तामाङ रहेका छन् । तासको खालमा छापा हानेर २ लाख ४५ हजार ३ सय ६० रूपैयाँ नगद र १० बुक तास बरामद गरिएको जानकारी एसपी ढकालले दिए ।
त्यस्तै, प्रहरीले सुनसरीको धरानबाट ७ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१ आदर्श मार्गका शम्भु रेग्मीको घरमा तास खेलिरहेका ३१ वर्षीय प्रज्वल रेग्मी, ३१ वर्षीय सविन बस्नेत, २९ वर्षीय रवि चौधरी, ३५ वर्षीय प्रदीप सुवेदी, धरान–१६ का २९ वर्षीय आशिष प्रधान, धरान–१५ का ३२ वर्षीय अभिषेक लिम्बू र धरान–१२ का ३६ वर्षीय रवि साह पक्राउ परेका हुन् ।
पक्राउ परेकाको साथबाट ४७ हजार २ सय रूपैयाँ नगद र १ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध कानुनी कारबाही अघि बढाउन अनुसन्धान सुरु गरिएको छ ।























