विराटनगरमा प्रतिबन्धित फूल छ्यापछ्याप्ती

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार १८:००

विराटनगर । नेपालमा ताजा तथा प्लाष्टिका फूलहरु आयातमा प्रतिबन्ध गरिएको भएपनि विराटनगर बजारमा प्रशस्त रुपमा बिक्रीका लागि राखिएको छ ।

अर्थात, विराटनगर बजारमा प्रतिबन्धित फूल छ्यापछ्याप्ती पाइन्छ । विदेशमा उत्पादित ताजा फूल र कृत्रिम प्लाष्टिका फूलहरुमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै व्यापारीले अवैध बाटोको प्रयोग गरेर नेपाल ल्याउने गरेका छन् ।

ताजा फूल र कृत्रिम प्लाष्टिका फूल अहिलेसम्म भित्रिएको तथ्यांक नभएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले जानकारी दिए । उनका अनुसार भन्सार कार्यालयबाट कागजका सामान्य फूलबाहेक अन्य कुनै पनि प्रकारका फूलहरु भित्रिएको छैन ।

ताजा फूलहरु विदेशबाट ल्याउनका लागि क्वारेन्टाइनमा जाँच गर्नुपर्नेलगायतका प्रक्रिया पूरा गरेपछि मात्रै कानुनी रुपमा नेपालको कुनै पनि नाकाबाट भिœयाउन पाइन्छ । तर, क्वारेन्टाइनको जाँचकीय प्रक्रिया पूरा गर्नेतर्फ व्यवसायी नलागी चोरी तस्करीको बाटो प्रयोग गरेर नेपालमा फूल भित्राउँदासमेत सम्बन्धित निकायले अनुगमन गरेको देखिँदैन ।

‘सरकारले नै प्लाष्टिका फूलहरु आयातमा रोक लगाएको हुँदा भन्सारमा आउने कुरै भएन । बजारमा आएका फूलहरु कहाँबाट कसरी आए थाहा छैन । भन्सारकोे बाटो प्रयोग गरेर अहिलेसम्म ताजा र प्लाष्टिका फूलहरु भित्रिएका छैनन्,’ दाहालले भने ।

भारतबाट सयपत्री, मखमली र प्लाष्टिका फूलहरु भन्सारको बाटो प्रयोग नगरी व्यवसायीहरुले चोरीको बाटो हुँदै ल्याएर बिक्रीवितरण गर्ने गरेका छन् । विगतका वर्षमा भारतबाट फूलहरु विभिन्न बाटो प्रयोग गरी आयात हुँदा यहाँका फूलले बजार नपाएको गुनासो किसानहरुले गरेपछि सरकारले विदेशबाट ल्याउन कडाइ गरेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा उत्पादन हुने फूलले माग धान्न नसक्ने भएको हुँदा भारतबाट फूल ल्याएर बिक्रीवितरण गर्ने गरेको विराटनगरका एक फूल व्यवसायीले बताए । ‘अन्य समयमा अपुग हुने यहाँको फूल चाडपर्वलगायत विवाहको सिजनहरुमा त झन् पर्याप्त हुँदैन । त्यही भएर माग बढी भएपछि हामीले भारतबाट ल्याउनुको विकल्प हुँदैन,’ उनले भने ।

तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूलको बढी प्रयोग हुन्छ ।

पछिल्लो समय सभासमारोहको ‘स्टेज’ सजाउने र मालाका लागि सयपत्री र अन्य सिजनेवल फूलको माग बढ्न थालेको छ । विराटनगरका एक फूल व्यवसायीले भने, ‘भारतबाट फूलहरु ल्याउने गरेका थियौं । तर, सरकारले कडाइ गरेपछि थोरै मात्रामा फूलहरु आउने गरेको छ । अहिले पनि फूलहरु विराटनगर ल्याउन पाएका छैनौं । कोलकाताबाट मगाएको फूल सीमापारि अड्किएर बसेको छ । सीमा क्षेत्रमा प्रहरीले कडाइ गरेपछि सबै फूलहरु उत्तै छन् ।’

न्यू कलकत्ता फ्लावर एण्ड डेकोरेट व्यवसायीका अनुसार विराटनगरका फूल व्यवसायीले नगर क्षेत्रभित्र र नजिकैको गाउँमा जग्गा लिजमा लिएर फूल खेती गर्न थालेको बताए । उनका अनुसार यहाँको फूल खेतीले मात्रै माग धान्न नसक्ने हुँदा उपभोक्ताले महँगो दरमा माला वा फूल किन्नु परेको छ ।

सरकारले भारतबाट फूल ल्याउन कडाइ गरेपछि विराटनगर बजारमा सयपत्रीका माला १ सय ५० रुपैयाँसम्म बिक्रीवितरण भइरहेको छ । वाणिज्य कार्यालय र स्थानीय सरकारले बजार अनुगमन नगर्दा उपभोक्ताहरु महँगोमा सामान किन्न बाध्य छन् ।

विराटनगरमा सयपत्री फूलको अभाव हुँदा प्लाष्टिकका फूलको व्यापार बढेको छ । बजार नै प्लाष्टिकका फूलले सजाइएको छ । प्लाष्टिकका फूल प्रतिबन्धित हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.