
विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ मा सडेको अवस्थामा बिहीबार दिउँसो पुरुषको शव फेला परेको छ ।
सडेर दुर्गन्धित भएको अवस्थामा दिउँसो २ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिसाङ खोलाको बगरमा शव भेटिएको छ ।
अन्दाजी ४५ वर्षजस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।























