
विराटनगर । मोरङको रंगेलीमा घाँस काट्न गएका वृद्ध पानीमा डुबेको अवस्थामा शुक्रबार राति मृत फेला परेका छन् ।
रंगेली नगरपालिका–९ महिनाबारीका ६४ वर्षीय लखन सतार मृत भेटिएका हुन् । प्रहरीका अनुसार घाँस काट्न भनेर अपरान्ह हिँडेका उनी बेलुकासम्म घर नफर्किएपछि खोजी थालिएको थियो ।
आफन्त र परिवारका सदस्यले खोजी गर्ने क्रममा स्थानीय झमक मगरको खेतको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घटनाका बारेमा राति ११ः३० बजेतिर स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन् ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा पठाएको छ । सतारको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























