
विराटनगर । नेपाली हिन्दुहरुको महान पर्व तिहार सकिएको छ । तिहार सकिएसँगै अर्को पर्व छठको तयारी तीव्र पारिएको छ ।
छट पूजास्थल नहर, पैनी, खोला आदि पानीका स्रोतहरु सरसफाइ गर्न थालिएको छ । छठपर्वलाई लक्षित गरेर बजार लाग्न थालेका छन् । छठका लागि आवश्यक पर्ने सामग्री किनमेल गर्नेहरुको भिड बजारमा बढेको छ ।
बजारमा ग्राहकहरू सामान खरिद गर्नका व्यस्त देखिन्छन् । केरा, सखर खरिद गर्ने क्रम बढेको छ । मिथिलाञ्चलको घर घरमा मनाइने पवित्र पर्व छठमा केरा र पकवानका लागि सखर आवश्यक पर्छ ।

किसानहरू यतिखेर उखु पेलेर सखर बनाउन लागि परेका छन्। छठ पर्वको बेला सखर प्रयोग गरेर बनाइएका परिकार मात्रै प्रसादका रूपमा चढाउने चलन छ । यसवर्ष छठ पूजा कात्तिक २२ गते परेको छ।
तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजा तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल सुरु भइसकेको हो । पछिल्लो समय पहाडतिर पनि छिटपुट रूपमा छठ मनाउन थालिएको छ ।
नदी, तलाउ, पोखरीलगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरेर छठ मनाउने चलन छ । ठाउँठाउँमा छठ पूजास्थलको सरसफाइ र सजावटको काम तीव्र बनाइएको छ ।























