पत्रकार महासंघका पूर्वअध्यक्ष प्रमुख सूचना आयुक्तमा सिफारिस

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १९, सोमबार २१:१२

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा सिफारिस भएका छन् ।

आयोगको सदस्यमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । विष्ट नेकपा (एमाले)का प्रचार विभाग सचिव हुन् । सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको बैठक सोमबार बसेको थियो ।

बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको बताइएको छ । समितिले यसअघि कात्तिक १३ गते कार्यालय सयमभित्रमा बुझाइसक्नुपर्ने र इच्छुक व्यक्तिले दिन मिल्ने गरी आवेदन खुला गरेको थियो ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेकाले व्यक्तिगत विवरण र योग्यता खुल्ने गरी आवेदन दिनुपर्ने थियो । प्रमुख सूचना आयुक्त र सूचना आयुक्त बन्न चाहनेले मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको र सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने हुन्छ ।

अहिले प्रमुख सूचना आयुक्तमा महेन्द्रमान गुरुङ तथा सूचना आयुक्तहरुमा कमला ओली र रत्नप्रसाद मैनाली छन् । उनीहरुको ५ बर्से पदावधि सकिन लागेको छ ।

पदावधि सकिएपछि रिक्त हुने पदमा योग्य र उपयुक्त व्यक्तिको नियुक्तिका लागि सिफारिस गर्न ऐनको दफा ११ को उपदफा ३ बमोजिम सिफारिस समिति हुन्छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुखको अध्यक्षतामा ३ सदस्यीय समिति रहने व्यवस्था छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा रहेको समितिमा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी सदस्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.