
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मन्दिर टोलस्थित गछिया खोलाको किनारमा मंगलबार बिहान एक जना पुरुष मृत फेला परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१० घर भइ करिब ६/७ वर्षदेखि सुन्दरहरैँचा–६ का बालकृष्ण राईको घरमा बस्दै आएका ५० वर्षीय गंगा विक मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ६ः४० बजेतिर शव फेला परेपछि स्थानीयले खबर गरेका थिए ।
मृतकको पहिचान तत्काल खुलेको थिएन । मृतककै भाउजू सनमाया विकले सनाखत गरिदिएपछि शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ ।
गंगाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।























